काठमाडौँ । पहिला देश (पिलुल्स रिभोल्यूसन) ले मंसिर ५ गतेदेखि पुस १० गतेसम्म पूर्वको पाथीभरादेखि पश्चिम लिम्पियाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ ।
‘पहिला देश’ले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सुशीला कार्की नेतृत्वको सरकारको विस्थापनको माग समेत गरेको छ ।
पहिला देशका संयोजक एसपी शाहले वर्तमान सरकारले जेन्जीको बलिदानको अवमूल्यन गरेर पुरानै बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरूले उनको विस्थापन र देशको निकासका लागि संघर्षको घोषणा गर्नुपरेको बताए ।
पहिला देशका प्रवक्ता डा. निकोलस भुसालले जेनजी युवाहरूलाई गोली हान्न आदेश दिने तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पक्राउ गर्नुको सट्टा आफूहरूलाई पक्रिने कार्य गैरन्यायीक भएको जिकिर गरेका छन् ।
बदलिँदो परिस्थितिअनुसार देशलाई नयाँ निकास दिनुको सट्टा भ्रष्टाचार र कुशासनलाई नै निरन्तरता दिने वर्तमान सरकारका प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने भुसालले बताए ।
पहिला देशका सचिवालय सदस्य धरणीधर दाहालले सुशीला कार्की सिंहदरबारमा फोटो झुण्ड्याउन मात्रै आएको जिकिर गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन नहुने अवस्थामा फागुन २१ गते चुनाव हुन नदिने चेतावनी दिए ।