काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्माणका लागि सुरू भएको वाम एकता प्रक्रियाबारे विभिन्न भ्रम फैलिएको भन्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले स्पष्टीकरण दिएको छ ।
प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत एक दर्जनभन्दा बढी वाम विचारधाराका पार्टी एकीकृत भएर नयाँ नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।
आम चुनावका लागि दल दर्ता अनिवार्य भएपछि निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही अनावश्यक भ्रम फैलाएको सचिवालयको जिकिर छ ।
‘पार्टी संयोजक र सह-संयोजक बाहेकका सबै पद तथा संरचनाहरू आपसी सहमतिका आधारमा गठन हुनेछन् । त्यसका लागि गृहकार्य जारी छ’, आचार्यले भनेका छन् ।
उनका अनुसार दल दर्ताका लागि आयोगमा पेश गरिएको सूची एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको हो । कानुनअनुसार एक-तिहाइ महिला सदस्य अनिवार्य समावेश गर्नुपर्ने भएकाले तत्काल उपलब्ध भई हस्ताक्षर गर्न पुगेका १३ जना महिला सदस्यको नाम सूचीमा थपिएको स्पष्ट गरिएको छ ।