काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा आज स्वदेश फर्किने भएका छन् ।
विमानस्थल स्रोतका अनुसार देउवा दम्पती बेलुका ९ः३० बजे काठमाडौं आइपुग्ने तालिका छ । उनीहरू सिंगापुर विमानमार्फत कात्तिक १० गते सिंगापुर गएका थिए । गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा चोट लागेको थियो ।
त्यहाँ १२ वटा टाँका लगाएको कांग्रेस नेताहरूले बताएका थिए । पार्टीमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर उँडेका थिए । सिंगापुर जाँदा उनीहरूले भीआईपी कक्ष पनि प्रयोग गरेका थिएनन् । वर्तमान अन्तरिम सरकारले देउवासहितको पासपोर्ट रोक्का गर्ने र काठमाडौं बाहिर जाँदा अनुमति लिनुपर्ने निर्णय गरेका थियो ।
तर देउवा उपचारको लागि विदेश जाने भन्ने जानकारी पाएपछि उनका लागि उक्त व्यवस्था फुकुवा गरिएको थियो । यता असोज २८ गतेदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठक एक महिनासम्म जारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाहेक अन्य सबैले आफ्नो धारणा राखिसके पनि निर्णयका लागि भने संस्थापन समूहले देउवालाई कुरिरहेका छन् ।
पार्टीभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन के गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन् । महामन्त्री गगन थापाले नियमित महाधिवेशनको लागि अब सम्भव नभएको भन्दै मंसिर २७ गतेका लागि विशेष महाधिवेशनको मिति प्रस्ताव गरेका छन् ।