शनिवार, आश्विन १७ गते २०८३

पार्टी परित्याग गरेका परियारलाई रास्वपा प्रवक्ता मनीष झाले भने– नयाँ यात्राको शुभकामना

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले पार्टी छाडेका सचिवालय सदस्य सन्तोष परियारलाई नयाँ यात्राको लागि शुभकामना दिएका छन् ।

सञ्चारकर्मीहरूलाई परियारले पार्टी छाडेको औपचारिक जानकारी दिँदै प्रवक्ता झाले उनी राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा रहेको बताउका छन् । प्रवक्ताले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका पूर्वसांसद सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्रीज्यूलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनुभएको छ ।’

उनले थपे, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा जानकारी गराउनुभयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना ।’ परियारले शुक्रबार रास्वपा परित्याग गरेका हुन् । पार्टीबाट राजीनामा दिएर छुट्टै अभियानमा जोडिन लागेका परियार अहिले माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील अभियान सुरु गरेका जनार्दन शर्मासँग छलफलमा छन् ।

परियार पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तनको बहसमा थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको मागसमेत गरेका थिए । यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार