काठमाडौँ । व्यावसायिक भिसामा नेपाल बसेर शंकास्पद गतिविधि गरेको आरोपमा चार जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन्। अध्यागमन विभागले शुक्रबार एक महिला र तीन पुरुषलाई पक्राउ गरेको प्रवक्ता टीकाराम ढकालले बताए।
काठमाडौंको सोह्रखुट्टेस्थित मिलिजुली चोक, म्हैपीबाट उनीहरुलाइ नियन्त्रणमा लिएको ढकालले बताए। ठूलो संख्यामा चिनियाँ नागरिक बस्दै आएको उक्त स्थानलाई चाइनिज हाउजिङका नामले समेत चिनिन्छ। व्यावसायिक भिसा लिए पनि उनीहरूलाई आफ्नो व्यवसाय, कम्पनीको नाम र सो सम्बन्धमा अन्य कुनै पनि जानकारी नभएको पाइएको छ।
उनीहरूले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरुलाई जागिरको प्रलोभनमा पारेर सामाजिक सञ्जालमा टिकटक बनाउन लगाउने र टिकटकमार्फत् अन्य चिनियाँसँग साथी बनाइ बिहे गर्न लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपाली युवतीहरूलाई चीनमा लगेर विवाह गर्ने भनि चीनसमेत पठाएको जानकारी प्राप्त भएको पनि अध्यागमन विभागले जनाएको छ।