शुक्रवार, आश्विन १६ गते २०८३

मन्त्री पुनले भने– जेनजीहरू आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन्

सोमवार , मंसिर १, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवा नै राजनीतिक दल दर्तातर्फ लागेकोमा असन्तुष्टि जनाएका छन् । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सहभागिताका लागि जेनजीहरूले दल दर्ता गर्न थालेपछि मन्त्री पुनले असन्तुष्टि जनाएका हुन् । 

“१२३ दल दर्ता भइसके । ३२ दल दर्ता हुने प्रकृयामा छन् रे ! जेनजीहरूले आफूलाई पुर्ने खाल्डो आफैँ खन्दैछन्,” मन्त्री पुनले फेसबुकमा लेखेका छन्, “संसारमा फुटेर होइन आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भइन्छ ।” 

फुट्ने र सानोतिनो कुरामा नमिलेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको उनले बताएका छन् । यस्तै अवस्था भए ‘वृद्ध नेताहरू’को संरक्षणमा रहेका ‘जाली फटाहा’ नेताहरूका र आसेपासेहरूको शासन फेरि फर्किने उनको भनाइ छ । 

“जेनजी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्रीमण्डलले गरेको राम्रो र सकारात्मक काम र निर्णय पुरानै भ्रष्टाचारी पार्टीहरू फेरि निर्वाचित भएर आए भने उल्ट्याउँछन्,” उनले लेखेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार