आइतवार, श्रावण २४ गते २०८३

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको फैसलाले विश्वनै तरंगित, भारतलाई यस्तो भन्यो बंगलादेशले

सोमवार , मंसिर १, २०८२

काठमाडौँ । बंगलादेशको इन्टरनेशनल क्राइम्स ट्रिब्युनलले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री आसदुज्जमान खान कमाललाई मृत्युदण्डको सजाय सुनाएपछि विश्वनै तरंगित बनेको छ ।

विगत ६० वर्षयता विश्वका कुनै पनि देशका प्रमुखहरुलाई मृत्युदण्डको फैसला सुनाइएको छैन । तर, बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला सुनाएपछि विश्व तरंगित बनेको हो । यसबारे अनेक तबरबाट बहस सुरु भएको छ । १५ महिनाअघि बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै फासीको सजाय सुनाइएको हो ।

ट्रिब्युनलले अगस्ट २०२४ मा भएको विद्यार्थी आन्दोलनमा भएको दमनमा शेख हसिना मास्टरमाइन्ड भएको आरोपमा मृत्युदण्डको फैसला सुनाएको हो । बंगलादेशमा जुलाई–अगस्ट २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा १४ सयभन्दा बढीको मृत्युको भएको थियो । यसको जिम्मेवार हसिना भएको ठहर छ । बंगलादेशमा सत्तापलटपछि शेख हसिना १५ महिनादेखि भारतमा निर्वासित जीवन बिताइरहेकी छन् ।

विद्यार्थी आन्दोलनपछि ५ अगस्ट, २०२४ मा शेख हसिना राजीनामा दिएर भारत भागेकी थिइन् । त्यसको ३ दिनपछि ८ अगस्टमा मोहम्मद युनुसको नेतृत्वमा अन्तिरिम सरकार बनेपछि विद्यार्थी आन्दोलनको बलमा १४ अक्टोबरमा इन्टरनेशनल क्राइम्स ट्रिब्युनल गठन भएको थियो । जसका अध्यक्ष न्यायाधीश गुलाम मुर्तजा मजुमदार बनेका थिए ।

यसले ६ जनवरी, २०२५ मा शेख हसिनाविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । सोही मुद्दामा अदालतले सोमबार फैसला सुनाएको हो ।  हसिना र पूर्व गृहमन्त्री कमाललाई मृत्युदण्डको फैसला भए पनि उनीहरू भारतमा सुरक्षित छन् । के अब बंगलादेशले हसिनालाई भारतबाट ल्याउन सक्ला ? भन्ने बहस पनि सुरु भएको छ ।

यसैबीच बंगलादेशलेहसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमलको सुपुर्दगीको माग गरेको छ।  बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले फरार शेख हसिना र असदुज्जमान खान कमललाई दोषी ठर्हयाएको छ।’

विज्ञप्तिमा मानवताविरुद्धको अपराधमा दोषी ठहरिएका यी व्यक्तिहरूलाई शरण दिने कुनै पनि देशले मित्रवत व्यवहार र न्यायको गम्भीर अवहेलना गरेको हठर्ने उल्लेख गरिएको छ।बंगलादेशको विदेश मन्त्रालयले अगाडि जोड दिँदै भनेको छ, ‘हामी भारत सरकारसँग दुवै दोषीलाई तुरुन्तै बंगलादेशी अधिकारीहरूलाई सुम्पन माग गर्दछौँ। यो दुई देशहरू बीचको सुपुर्दगी सन्धिअन्तर्गत भारतको दायित्व हो।’

बंगलादेशले आधिकारिक रूपमा शेख हसिना फिर्ताका लागि अनुरोध गर्ने धेरै पत्र पठाइसकेको छ। तर भारतले अहिलेसम्म यसको कुनै जवाफ दिएको छैन।

हसिनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जोगाएका छन् । बंगलादेशको नेतृत्व हुँदासम्म हसिना र मोदीको सम्बन्ध एकदमै राम्रो थियो । त्यसैले मोदीले हसिनालाई भारतमा अहिलेसम्म सुरक्षित राखेका छन् । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार