शुक्रवार, आश्विन १६ गते २०८३

जेनजी आन्दोलनको घटनाको जिम्मा तत्कालीन प्रधानमन्त्रीले लिन सक्दैन : शंकर पोखरेल

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनतर्फ संकेत गर्दै त्यसबेलाका घटनाहरू तत्कालीन प्रधानमन्त्रीको हैसियतले केपी ओलीले लिनै नसक्ने बताएका छन् ।

मंगलबार विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पोखरेलले शान्ति सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गर्दा प्रधानमन्त्रीले जिम्मा लिन नसक्ने बताएका हुन् । उनले भने, ‘शान्ती सुरक्षा कायम गर्न सरकारले बल प्रयोग गर्दा प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने कुरा सही होइन, जेनजीको आवरणमा बनेको सरकारले अहिलेको द्वन्द्व समधान गर्न सक्दैन । सरकारले मुलुकलाई अगाडि होइन पछाडि धकेलिरहेको छ ।’

उनले आजको बैठकको मुख्य एजेन्डा संसद् पुनर्स्थापनाका लागि बल पुर्‍याउनु रहेको पनि बताएका छन् । उनले थपे, ‘संसद् पुनस्थापनामा बल पुर्याउनका लागि बैठक आयोजना गरिएको हो, संविधानले नचिनेको प्रधानमन्त्रीले संसद् विघटन गरेकोले यो पहिलो दृष्टिमै गलत छ । विगतका फैसला र नजीरले पनि संसद् पुनर्स्थापना आवश्यक देखिन्छ । राजनीतिको बिग्रेको कोर्स यही बिन्दुबाट सुधार्नु पर्दछ ।’

उनले चुनावको कुरा गर्नेहरू नै चुनाव हुनेमा विश्वस्त नरहेको अवस्थामा एमालेले त्यसको पैरवी गर्दै नहिँड्ने बताए । भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए । त्यसक्रममा ७६ जना जेनजी आन्दोलनमा सहभागी भएकाहरूको ज्यान गएको थियो ।

गोली चलाउने र धरपकड गर्ने कार्यको जिम्मा ओलीले नै सरकार प्रमुखको हैसियतबाट लिनुपर्ने आवाज उठिरहेको बेला एमालेले भने त्यसको जिम्मा प्रधानमन्त्रीले लिन नसक्ने बताएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार