शुक्रवार, आश्विन १६ गते २०८३

सुतिरहेका प्रसाईँलाई पक्राउ प्रकरण : माथिको आदेश भन्दै प्रहरीले..., ओली उभिए प्रसाईँको पक्षमा

बुधवार , मंसिर ३, २०८२

काठमाडौँ । मेडिकल व्यवासायी तथा राजा फर्काउ अभियानमा लागेका दुर्गा प्रसाईँलाई मध्यरातमा पक्राउ गरेपछि राजतन्त्र पक्षधर तरंगित बनेका छन् ।

 जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

दुर्गा प्रसाईँले आफूलाई पक्राउ गर्ने तयारी भइरहेको सुइको समेत पाएका थिएनन् । एउटा व्यक्ति मध्यरातमा सुतिरहेको हुन्छ । तर, सुतिरहेको व्यक्तिको बेडसम्मै प्रहरी पुग्छ ? अनि पक्राउ गरेर लग्छ ? के यो अन्तरिम सरकारको कदम राम्रो हो ?

कुनै पनि व्यक्तिको मौलिक अधिकार हुन्छ ? के त्यो अधिकार हनन् गर्न पाइन्छ ? यसको जवाफ अन्तरिम सरकारले दिनुपर्छ भन्दै टिकाटिप्पणी भइरहेका छन् । यदि पक्राउ नै गर्नु थियो भने दिनमा गर्न थियो । तर, मध्यरातमा पक्राउ गर्नुले राम्रो सन्देश नजाने एकथरिको बुझाइ हो । त्यसैले एकथरिले अन्तरिम सरकारको आलोचना पनि गरिरहेका छन् । प्रसाईँले मंसिर ७ गते आन्दोलनको घोषणा गरेका थिए । उनले राजसंस्था फर्काउने भन्दै देशव्यापी आन्दोलनको तयारी गरेका थिए । त्यसैले प्रसाईँलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

यसैबीच मंगलबार प्रसाईंलाई भेट्न गएका कानुन व्यवसायी विनोदमणि भट्टराइलाई प्रहरीले भेट्न नदिई फर्काएको थियो । प्रहरीले ‘माथिको आदेश’ भन्दै भेट्न नदिएको अधिवक्ता भट्टराईलाई फर्काएको हो । भट्टराईले राज्यबाट संविधानको उलंघन भएको बताएका छन् । यता प्रसाईंलाई पक्राउ गरेको विरोधमा नागरिक बचाउ दल विरोधमा उत्रिएका छन् । राजतन्त्र पक्षधरहरुले पनि सरकारको विरोध गरेका छन् । 

प्रसाईँको पक्षमा उभिए ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रसाईंलाई प्रहरीले पक्राउ गरेको घटनाको विरोधमा उभिएका छन् । निवर्तमान प्रधानमन्त्री ओलीले प्रसाईंलाई अभिव्यक्ति दिएकै आधारमा पक्राउ गरिएको भन्दै उनको रिहाइको मागसमेत गरेका हुन् । 

प्रसाईँ ओलीविरुद्ध निरन्तर अभिव्यक्ति दिदैँ आएका थिए । प्रसाईले नेपाली राजनीतिमा सबै भन्दा बढि ओलीको विरोध गर्छन । तर, उनै प्रसाईँको रिहाइका लागि ओलीले दबाब दिइरहेका छन् । सरकारले प्रसाईँमाथि अन्याय गरेको ओलीको ठहर छ।

काठमाडौंमा बुधबार स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ओलीले प्रसाईंको रिहाइ माग गरेका हुन्। ओलीले सरकारलाई दबाब दिदैँ भने, ‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरून्तै छाड्नुस्। बोल्नै नपाउने पनि हुन्छ?’ 

मानव अधिकार आयोगले समेत बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर भनिसकेको बताउँदै ओलीले उनको रिहाइ माग गरेका हुन्। ‘दिउँसो भिडिओ निकाल्यो, बेलुका समात्यो यो सरकारसँग त्यो भिडिओको जवाफ छ कि छैन? दुर्गा प्रसाईंलाई दिने जवाफ छ कि छैन। म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु। एआई त होइन होला, प्रश्न उठायो, कसैले अनि। भएकै भिडिओ त देखाएको हो दुनियाँ शोकमा भएको बेला तपाईंहरू त षड्यन्त्रको तानाबाना बुनिरहनुभएको रहेछ।’, ओलीले भने । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार