काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन्।
शुक्रवार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उनले देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ उल्लेख गर्दै त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले भने, ‘यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु ।’ उनले समाज तथा राष्ट्रको आवश्यकताअनुसार थप विषयको पठनपाठन सुरु गरी व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सिपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।
शैक्षिक संस्थाहरूको प्रमुख कार्य मुलुकमा विभिन्न क्षेत्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति तयार गर्नु रहेको उनको भनाइ छ । राष्ट्रपति पौडेलले भने, ‘मुलुकको प्राज्ञिक र प्रशासनिक मात्र होइन, राजनीतिक क्षेत्रमा स्थापित धेरै महिलाहरू यसै क्याम्पसबाट उच्च शिक्षा हासिल गरेको पाइन्छन्, उच्च शिक्षामा नयाँ नयाँ विषय अध्ययनका क्रममा पछिल्लो समय नेपाली विद्यार्थीहरू विदेशिने क्रम बढ्दो छ, यो यथार्थतालाई मध्यनजर गरी आगामी दिनमा बजारको मागलाई सम्बोधन गर्न स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो क्याम्पसले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।’
कुनै पनि मुलुकको विकासका लागि शिक्षाको योगदान महत्वपूर्ण रहेको उनको भनाई छ । साथै, नेपालमा नारीहरूको शैक्षिक उन्नयनमा पद्मकन्याको विशेष योगदान रहेको बताएका छन् । उनले भने, ‘राणा शासनको अन्त्य भएर प्रजातन्त्रको बिहानीसँगै शिक्षामा सर्वसाधारणको भर्खर पहुँच पुग्न लागेका बेला नेपाली नारीहरूका लागि उच्च शिक्षाको ढोका पद्मकन्याले नै खोलेको हो, त्यस्तो जटिल परिस्थितिमा उच्च शिक्षा प्रदान गर्ने मूल उद्देश्यका साथ स्थापना भएको पद्मकन्या क्याम्पस नारी शिक्षाको पर्यायका रुपमा रहेको छ ।’
उनले गुणस्तरीय शिक्षाका लागि महिला सशक्तीकरण भन्ने मूल उद्देश्यले स्थापित पद्मकन्या बहुमुखी क्याम्पस गौरवपूर्ण इतिहास भएको नेपालको एक अग्रणी शैक्षिक संस्था र नारी शिक्षाका लागि मुलुककै प्रमुख प्राज्ञिक केन्द्र बन्न सफल हुनु खुसीको विषय भएको बताएका छन् । उनले क्याम्पसलाई महिला विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्नका लागि भएको पहलप्रति प्रसन्नता प्रकट गर्दै यसको सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले पछिल्लो शैक्षिक सत्रमा विद्यावारिधी गर्ने विद्या थापा, प्रज्ञा गौतम, भगवति सेडाई, निरन खनाल र अन्जना पोखरेललाई सम्मान गरेका थिए ।