काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई सत्ताबाट हटाएरै छोड्ने बताएका छन् ।
शुक्रबार पार्टीको नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै बस्नेतले रिटायर्ड जीवन शानदार बनाउन छोडेर राजनीति गर्न आएको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन् । उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, ‘आजको हाम्रो मार्चपासले भोलि हामीले गर्ने प्रदर्शनको झल्को दिएको छ ।’
उनले थपे, ‘भोलिको हाम्रो प्रदर्शन भनेको सुशीला आमालाई (प्रधानमन्त्री) राजनीतिक जीवनबाट टाटाबाइ गर्न हो, छोराछोरीसँग बेलायत गएर उपचार गरेर रिटायर्ड जीवन शानदार गर्नुस् । वृद्ध पतिको सेवा गर्नुस् । राजनीति दलले नेताले गर्ने हो ।’ उनले २/३ दिनमा प्रधानमन्त्रीले पदबाट राजीनामा नदिए भोलेन्टियर फोर्सले आवश्यक कदम चाल्ने चेतावनी दिएका छन् ।
बस्नेतले प्रधानमन्त्रीको शारिरीक अवस्थामाथि पनि खिसिट्युरी गरेका छन् । उनले भने, ‘उहाँ खुटा खोच्याउँदै हिँड्नुहुन्छ । आराम गर्नुस्। केपी ओलीले भने जसरी अब संसद् पुनर्स्थापना गर्दै विधिको शासन र सुशासनलाई सही ट्रयाकमा ल्याउन फोर्सले काम गर्नेछ ।’