काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक नियमित बस्ने भए पनि यसहप्ता सोमबार नबसी मंगलबार र बिहीबार नबसी शुक्रबार बस्न लागेको हो । हिजो बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेकोले मन्त्रिपरिषद् बैठक सरेको थियो । आजको बैठकले सेना परिचालन गर्ने निर्णय गर्ने तयारी छ । यसअघि बिहीबारको सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो ।
बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । सरकारले निर्वाचन केन्द्रित शान्ति सुरक्षामा ध्यान दिँदै सेना परिचालनको तयारी गरेको हो ।
निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ। सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्मा पत्राचार गरिसकेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनले बिग्रिएको शान्ति सुरक्षाको अवस्था अहिले पनि साम्य भइसकेको छैन् । निर्वाचनका लागि सुरक्षा वातावरण नभएको भन्दै दलहरूले सरकारको आलोचना गरिरहेका छन् ।
सुरक्षाको वातावरण बनाउन भन्दै सरकारले यसपटक नेपाली सेनालाई चाँडै फिल्डमा उतार्न लागेको हो । यसअघिका निर्वाचनमा निर्वाचन हुनुभन्दा एक महिनाअघि मात्रै सेना परिचालन गरिँदै आएको थियो ।
तर, यसपटक सुरक्षा अवस्था असामान्य रहेकाले पहिल्यै सेना खटाउन लागिएको हो ।