काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफू अन्तर्गत रहेका मन्त्रालयका सचिवहरूलाई प्रभावकारी सेवा प्रवाह, छिटो छरितो काम र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन निर्देशन दिएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात मन्त्रालयका सचिवहरूलाई सिंहदरवारमा बोलाएर उनले विशेष रूपमा एकमुष्ट निर्देशन दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीले मन्त्री नहुँदा काम रोकिएको जस्तो देखिने प्रवृत्ति तत्काल हटाउनुपर्नेमा जोड दिँदै, आवश्यक अधिकार सचिवहरूमै प्रत्यायोजन गरिसकिएको र अझै अधिकार आवश्यक परे थप दिन आफू तयार रहेको बताइन् । उनले सचिवहरूलाई जिम्मेवारीबाट नभाग्न र कुनै पनि कामका लागि अरूको मुख नताक्न आग्रह गरिन्।
उनले भनिन्, ‘हामी अस्थायी हौँ। म क्षणिक हुँ। स्थायी सरकार भनेको ब्युरोक्रेसी हो। काम कार्यान्वयन गर्ने शक्ति तपाईँहरूकै हातमा छ। मैले सही गर्न सक्छु, निर्देशन दिन सक्छु, तर काम त तपाईँहरूले नै गर्ने हो । त्यसैले नतिजामुखी काम गर्नुहोस्, बहानाबाजी नगरौँ।’