काठमाडौं । नव घोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले आफूहरुले यदुवंशीको ठाउँमा कृष्णहरू रोजेको बताएका छन् ।
आइतबार पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णका रुपमा बाबुरा भट्टराई, जनार्दन शर्मा जस्ता नेताहरू रोजेको बताएका छन् । किराँतीले भने, ‘हामीले यदुवंश सेना रोजेनौँ, रोज्यौँ त केवल बाबुराम भट्टराई जस्तो । रोज्यौँ त केवल जनार्दन शर्मा जस्तो । हामीले रोज्यौँ त केवल रामकार्की जस्तो । ओजस्वी भट्टराई जस्तो, हामीले कृष्ण रोजेका छौँ ।’
उनले थपे, ‘हामी यो न्यायपूर्ण लडाइँमा हार्ने छैनौँ, जित्ने छौँ । यही आत्म विश्वासका साथ कृष्ण रोजेका हौँ ।’ कम्युनिस्ट पार्टी छोडेकोबारे आफूहरुलाई प्रश्न गरिएको भन्दै किराँतीले खोल छोडेर आफूहरूले गुदी बोकेको बताएका छन् । नेता किराँतीले भने, ‘हामीले खोल चाहिँ उतै छोडिदिएको हो, गुदी बोकेर आएका छौँ ।’
उनले थपे, ‘जहिले पनि खोल बोकिराख्नुपर्ने । सबैखाले असमानतालाई अन्त्य गर्छु भन्ने, असमानता गरिराख्ने । अब त्यस्तो कम्युनिस्ट पार्टी चल्दैन् ।’