काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिएका छन् ।
आइतबार काठमाडौंमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता शर्माले माओवादीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गरेको बताएका छन् । शर्माले भने, ‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भइरहेका छौं ।’
पार्टी घोषणा सभामा शर्माले मानव विकास, विश्व र मुलुकको राजनीतिबारे विश्लेषणात्मक घोषणा पत्र प्रस्तुत गरेका थिए । उनले विगतका विभिन्न आन्दोलन र पछिल्लो जेनजी विद्राहको बलिदानी खेर जान नदिन राजनीतिक पहल अनिवार्य बनेको बताएका छन् । त्यसैका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको उनको भनाइ छ ।
पार्टीको घोषणा पत्र वाचन गर्दै शर्माले भनेका छन्, ‘हाम्रो पार्टी केही दर्जन राजनीतिक दलहरूमाथि एक नयाँ दल थप्ने र केही नेता उत्पादन गर्न नभइ हालको विकृत राजनीतिलाई सुधार्दै आर्थिक, राजनीतिक एवं सांस्कृतिक रूपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रूपमा स्थापना भएको हो ।’ राजनीतिक पुनः संरचनाका लागि प्रगतिशील पार्टी गठन भएको उनको दाबी छ । उनले त्यसका लागि पार्टीले छिट्टै राजनीतिक पुनः संरचना सम्मेलन २०८२ आयोजना गर्ने बताएका छन् ।
उनले भने, ‘मानव सभ्यताको केन्द्रमा राजनीति हुने भएकाले राजनीतिले नै समग्र पक्षको अगुवाइ गर्दछ, राजनीति यसको नेतृत्व सही नभएपछि समग्र सामाजिक एवं, सांस्कृतिक प्रणाली, आर्थिक व्यवस्था र सुदृढ राष्ट्र निर्माणको गति रोकिन पुग्दछ, त्यसकारण प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रमुख कार्यभार वर्तमान गतिहीन राजनीतिको पुनः संरचना गर्नु हो, यसका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीले निकट भविष्यमा देशका सबै क्षेत्र, बौद्धिक वर्ग, विज्ञ, सबै जातजाती, धर्म, लिङ्ग, भूगोल आदिको सहभागितामा राजनीतिक पुनः संरचना सम्मेलन आयोजना गर्नेछ ।’
उनले संविधान संशोधन, शासकीय स्वरुप, निर्वाचन प्रणली, लोकतन्त्रको समृद्धिकरण, राइट टू रिजेक्ट, प्राइमरी इलेक्सन जस्ता मुद्दामा सोही सम्मेलनबाट छलफल गरेर निष्कर्ष निकाल्ने बताएका छन् ।