शुक्रवार, आश्विन १६ गते २०८३

अदालत अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले प्रधानमन्त्रीसँग माग्यो लिखित जवाफ

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । अदालत अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको सुनुवाइपछि प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिइएको हो । राजदूत फिर्तासम्बन्धी विवादमा दिएको आदेशमा निवेदकको माग बमोजिम ‘आदेश किन जारी हुनु नपर्ने हो’ भनी १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । तर, प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशक दिएकी थिइन् । हाल ११ देशका राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिर गरिरहेका छन् ।

अदालतको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, विशाल थापाले अन्तिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई प्रतिवादी बनाइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार