काठमाडौँ । राजा आउ देश बचाउ अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गाँ प्रसाईँले एक महिना अघि नै भन्ने गरेका थिए-मंसिर ७ गते वार पारको लडाइँ लड्दैँ छु । पुरै नेपाल बन्द हुन्छ । त्यसैले केही समयका लागि ग्यास, चामल र तेल लगायतका आवश्यक सामाग्रि घरमा जम्मा गरेर राख्नु होला ।’
देशभर आन्दोलन चर्काएर नारायणहिटी दरबारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बसाल्ने तयारीमा प्रसाईँ जुटेका थिए । तर, उनको प्रयास सफल हन सकेन । आज मंसिर ७ गते नत नेपाल बन्द भयो । नत नारायणहिटी दरबारमा पूर्वराजा शाह नै फर्किए ।
आन्दोलनको तयारीमा जुटेका प्रसाईँलाई मंसिर १ गतेको मध्यरातमा प्रहरीले पक्राउ गर्यो । यसैबीच दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लियो । शनिबार बालुवाटारमा सरकार र अभियानका प्रतिनिधिबीच महाअभियानले प्रस्तुत गरेका २७ बुुँदे मागबारे विस्तृत छलफल गर्दै समाधानका लागि निरन्तर संवाद अघि बढाउने सहमति दुवै पक्षबीच बनेको छ। सहमति बनेपछि आन्दोलन फिर्ता लिइएको हो ।
तर, संयोग नै मान्नु पर्छ- आजै दुर्गा प्रसाईँको सहमुहले देश बन्दको आन्दोलन फिर्ता लिनु । र, आजै दुर्गाँ प्रसाईँ रिहा हुनु । सात दिन हिरासतमा बसेका दुर्गाँ प्रसाईँ सर्वोच्चको आदेशले छुटेकाले यसलाई संयोग नै मान्नुपर्छ । तर, हिरासतबाट रिहा भए लगत्तै प्रसाईँले विषेश खुलासा गरेका छन् ।
प्रधानमन्त्री र गृहमन्त्रीको ‘स्पेसल रिक्वेस्ट’पछि आन्दोलनको ‘मोडल चेन्ज’ गरेको प्रसाईँले खुलासा गरेका हुन् । के होला प्रधानमन्त्री र गृहमन्त्रीको स्पेसल रिक्वेस्ट ? यो प्रश्न चासोको विषय बनेको छ ।
प्रसाईंले आइतबारदेखि अनिश्चितकालीन आम हड्ताल र आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। आम हड्ताल विफल बनाउन प्रहरीले प्रसाईंलाई पक्राउ गरेर हिरासतमा राखेको थियो। तर, प्रसाईंको नागरिक बचाउ महाअभियानले आन्दोलनको तयारी अगाडि बढाएपछि सरकारले शनिबार राति वार्ता गरेको थियो। उक्त वार्तामा स्पेसल रिक्वेस्ट गरेको प्रसाईँको दाबी छ ।
उनले रिहा भएपछि भनेर्, यो देशमा फेरि न्याय मरेको छैन भन्ने पुष्टि भयो। सर्वोच्च अदालतलाई मुरीमुरी धन्यवाद। मलाई गैरकानुनी थुनामा राख्न मिल्दैन भनेकोमा। ७ दिनको प्रहरी हिरासतबाट मुक्त हुँदै गर्दा मेरोबारेमा चासो र चिन्ता राख्ने सबै नेपालीलाई धन्यवाद। प्रहरीले जुन र्गयो त्यसका लागि पनि धन्यवाद । साथै हामीले जुन हिसाबले यो अभियान र आन्दोलनलाई अघि बढायौँ । हामीले आन्दोलन स्थगित गरेका हैनौँ। मोडल मात्रै चेन्ज गरेका हौँ। प्रधानमन्त्री र गृहमन्त्रीले स्पेसल रिक्वेस्ट गरेकोले।’
प्रसाईँको यो भनाइपछि राजतन्त्र पक्षधरले प्रधानमन्त्री कार्की राजसंस्था फर्काउने मुद्धामा सहमत भएको दाबी गरिरहेका छन् । जेनजी आन्दोलनपछि भदौ २५ गते नयाँ सरकार गठनका लागि सेना प्रमुखसँग वार्ता गर्न जेनजी अभियान्ताहरु जंगि अड्डा पुगे । त्यहाँ जेनजी प्रतिनिधिहरूसँग भएको भेटमा प्रधानसेनापति अशोकराज सिग्देलले दुर्गाँ प्रसाईँ अभियानको स्टेकहोल्डर हो भनेपछि जेनजी अभियान्ताहरु वार्ता नगरि फर्केका थिए ।
प्रधानसेनापति सिग्देलले प्रसाईँलाई विषेश प्राथमिकता दिएपछि त्यसबेला समेत हलचल मच्चिएको थियो । फेरि प्रसाईँले प्रधानमन्त्रीले स्पेसल रिक्वेस्ट गरेको खुलासा गरेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।