काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको बताएका छन् ।
आज जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले जति राजनीतिक गतिविधि बढ्छन्, त्यति नै अराजकता घटने बताएका छन् । मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको उनको भनाइ थियो । ज्ञवालीले भने, ‘एमालेका कारण अरू दललाई पनि ऊर्जा थपिएको छ । एमालेलाई जस दिनु र नदिनु फरक कुरा हो । जति राजनीतिक गतिविधि बढ्छन, त्यति देशमा अराजकता घट्छ । एमाले फेरि लयमा फर्किएको छ ।’
बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र तथा जनसभालाई ऐतिहासिक बनाउने तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएका छन् । आजको बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले विस्तृत जनपरिचालन कार्ययोजना पनि पारित गरेको छ ।
महाधिवेशनको उद्घाटन सत्रलाई सफल बनाउन आगामी दिनहरूमा जनपरिचालन अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने एमालेले जनाएको छ ।