काठमाडौँ । युक्रेनले रुससँगको जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित शान्ति योजनामा सहमति जनाइसकेको दाबी एक वरिष्ठ अमेरिकी अधिकारीले गरेका छन्। उनका अनुसार प्रस्तावित २८ बुँदे योजनाका अधिकांश महत्वपूर्ण बुँदामा दुवै पक्षबीच सहमति भइसकेको र अब केही प्राविधिक तथा सानातिना विषयमा मात्र छलफल जारी रहेको छ।
यद्यपि युक्रेनले आधिकारिक रूपमा यसबारे केही जानकारी नदिए पनि युक्रेनी अधिकारी रुस्तम उमरेभले सामाजिक सञ्जालमा लेख्दै जेनेभामा सम्पन्न वार्तापछि दुवै पक्ष ‘सम्झौताका प्रमुख सर्तहरूमा ठोस प्रगति’मा पुगेको बताएका छन्। उनका अनुसार राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको अमेरिकी भ्रमण यसै महिनाभित्र गराउने प्रयास भइरहेको छ, जसले शान्ति सम्झौतालाई अन्तिम रूप दिने अपेक्षा राखिएको छ।
ट्रम्प प्रशासनले तयार पारेको २८ बुँदे योजना निकै व्यापक प्रकृतिको रहेको बताइएको छ। सो योजनाअनुसार युक्रेनले करिब २० प्रतिशत भूभाग—ष्लअगिमष्लन डोनबास क्षेत्र—रूसलाई सुम्पनुपर्नेछ। युक्रेनी सेनाको आकार घटाएर अधिकतम ४ लाखमा सीमित गर्नुपर्ने, नेटोमा युक्रेनको प्रवेश रोक्ने, तथा भविष्यमा लामो दूरीका हतियारको प्रयोगमा प्रतिबन्ध लगाइने जस्ता व्यवस्था समावेश छन्।
योजनाले क्रिमियालाई रूसको पूर्ण र स्थायी नियन्त्रण अन्तर्गत मान्यता दिने प्रस्ताव गरेको छ भने डोनेट्स्क र लुहान्स्कका अहिले युक्रेनको नियन्त्रणमा रहेका भागहरू रूसलाई हस्तान्तरण गरिनेछ। दक्षिणी क्षेत्रमा विद्यमान युद्ध रेखाहरू स्थायी रूपमा ‘फ्रिज’ गरिने, डोनबासलाई असैनिकीकृत क्षेत्र घोषित गरिने, र सो क्षेत्रमा दुबै देशले सेना तैनाथ गर्न नपाउने व्यवस्था राखिएको छ।