काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेला जारी छ ।
केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन आह्वान गर्न दबाब दिने उद्देश्यले राष्ट्रिय सभा गृहमा विशेष भेला डाकिएको नेताहरूले बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि ११ मंसिरमा बस्दैछ । बैठकमा बोल्ने नेताहरूले विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग राखेका छन् ।
भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेता, जिल्ला सभापति, नयाँ पुस्ता लगायतका नेताहरू सहभागी छन् । विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् । २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग सहित लिखित प्रस्ताव पेश गरिएको छ ।
कांग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।