काठमाडौं । मंसिर १२ गते आज शुक्रबारबाट एकता पौडेलको डेव्यु निर्देशकीय ‘हर्ष’ चलचित्र देशव्यापी प्रदर्शनमा आएको छ ।
प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रले दर्शकबाट पनि राम्रो प्रतिक्रिया शुक्रबारका विहानी शोमा मिलिरहेको छ । देशभर करिब १०० शोसहित प्रदर्शनमा आएको चलचित्रले पारिवारिक कथालाई केन्द्रमा राखेको छ । बुधबार आयोजित प्रिमियर शोमा पनि उनले हर्षमा निर्देशक शिव रेग्मीको फ्लेवर पाएको प्रतिक्रिया पाउँदा हर्षित देखिएकी थिइन् ।
निर्देशक पौडेल निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्रमा समेत निर्माण गरेकी छन् । चलचित्रमा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।
आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन र सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी चलचित्रमा छ । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो ।
प्रसन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको चलचित्रका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।