आइतवार, श्रावण २४ गते २०८३

जेलबाट रविको ‘प्लान ए’ : टार्गेट फागुन २१, वैकल्पिकहरु एक ठाउँमा : कुलमान, बालेन र जनार्दनसँग पनि...

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौँ ।२०७९ सालको आम निर्वाचनमा वैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपाले पछिल्लो समयका वैकल्पिक शक्तिहरुलाई आफूसँग जोड्ने प्रयत्न गरिरहेको छ ।जसअनुसार समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले रवि लामिछाने नेतृत्वको रास्वपासँग एकीकरण गर्ने निर्णय गरिसकेको छ ।

पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले वैकल्पिक राजनीतिक दलबिचको बृहत्तर ध्रुवीकरणर एकीकरण प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो । आगामी आइतबार राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ ।

त्यस्तै रास्वपाले उर्जामन्त्री कुलमान घिसिङ र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका जनार्दन शर्मालाई पनि पार्टीमा भित्र्याउने प्रयास गरिरहेको छ । उता कुलमान घिसिङले उज्यालो नेपाल पार्टी खोलेका छन् । उज्यालो नेपाल पार्टीसँग एकताको विषयमा रास्वपाले छलफल गरिरहेको छ ।

कुलमानले पनि रास्वपासँग एकताको विषयमा संवाद भइरहेको बताएका छन् । त्यस्तै कुलमान रवि लामिछानेको पक्षमा पनि खुलेका छन् । मन्त्री कुलमानले ओली सरकारले रविमाथि प्रतिसोध साँधेको भन्दै विरोध पनि गरेका छन् । कुलमान रविको पक्षमा खुल्दा रास्वपासँग एकताको सम्भावना बढेको देखिन्छ ।

जेलबाट रविले रास्वपाका नेताहरुलाई कुलमान लगायतका नेताहरुसँग एकताको माहोल बनाउन निर्देशन दिएका छन् । पछिल्लो समय वैकल्पिक रुपमा उदाएकाहरुलाई जसरी भएपनि एक ठाउँमा ल्याउनु पर्ने रविको ‘प्लान ए’ हो ।

रविको प्लान अनुसार रास्वपाका नेताहरु पनि वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासमा जुटेका छन् । रास्वपाका नेताहरुले पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग पनि छलफल गरिरहेका छन् ।

यदि छिन्नभिन्न भएर चुनावमा गयो भने पुराना दलले नै नतिजा आफ्नो पोल्टामा ल्याउने भएकाले वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्ने रविको सन्देश छ । यदि सबै वैकल्पिक शक्ति एक ठाउँमा आए पुराना दल फागुन २१ को निर्वाचनमा पत्तासाप हुने रविको ठहर हो । त्यसैले रास्वपाले वैकल्पिक शक्तिहरुसँग निरन्तर छलफल जारी राखेको छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार