काठमाडौँ । रुसी सेनाले मध्ये युक्रेनको औद्योगिक सहर क्रेमेन्चुकको पूर्वाधारमा हवाई हमला गरेको छ ।
उक्त हमलाबाट सहरका केही भागहरूमा बिजुली र पानी आपूर्ति अवरुद्ध भएको मेयर भिटाली मालेत्स्कीले जानकारी दिएको रोयटर्सले जनाएको छ ।
क्रेमेन्चुक निप्रो नदीको किनारमा अवस्थित एक प्रमुख औद्योगिक केन्द्र हो। जहाँ युक्रेनको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र रहेको छ ।
मेयर मालेत्स्कीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आक्रमणका कारण बिजुली, पानी र तापको आपूर्ति प्रभावित भएका क्षेत्रहरूमा सेवाहरू पुनर्स्थापना गर्नका लागि कर्मचारीहरूले काम गरिरहेको बताएका छन्। उनले क्षतिको मूल्याङ्कन पूरा भएपछि आक्रमणको परिणामबारे विस्तृत जानकारी सार्वजनिक गरिने बताएका छन्।
करिब चार वर्षदेखि जारी युद्धमा रुसले जाडो मौसमअघि युक्रेनको विद्युत्, ताप र पानी पूर्वाधारमा लामो दूरीका आक्रमणहरू तीव्र पारेको छ। यसको उद्देश्य सार्वजनिक मनोबल कमजोर पार्नु र औद्योगिक गतिविधिहरूमा बाधा पुर्याउनु रहेको छ।
सन् २०२२ मा पनि एक सपिङ मलमा भएको रुसी हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको थियो। युक्रेनको वायुसेनाले आफ्नो टेलिग्राम मेसेजिङ च्यानलमा क्रेमेन्चुकमा रुसी ड्रोन र क्षेप्यास्त्र हमलाको खतरा रहेको भन्दै रातभर चेतावनी दिएको थियो।