काठमाडौं। नेकपा एमालेले कारबाही गरेका १४ सांसदको पद जोगिएको छ। एमाले पार्टीको ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराएको थियो। तर संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो।
नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई एमालेले कारबाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो। तर संसद सचिवालयले एमालेले दिएको पत्रमा निर्णय गर्न ढिलाइ गर्दै आएको थियो।
एमालेले कारवाही गरेका सांसदहरुमा माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका थिए।