काठमाडौँ । सोमबार बेलुकासम्म क्रिकेट प्रेमीहरु मंगलबार अपरान्ह चार बजेको समयको प्रतिक्षामा थिए । किनकी उक्त समयमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरको खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको भिडन्त हुनेवाला थियो ।
मंगलबार अपरान्ह चार बजेसम्म सामाजिक संञ्जालका भित्ताहरुमा समर्थकहरुले निकै रोमाञ्चक स्टाटस लेखिरहेका थिए । र, अपरान्ह चार बजेदेखि सुदूरपश्चिम र विराटनगरको खेल सुरु भयो । टियु क्रिकेट मैदानमा सुरु भएको खेलमा सुदूरपश्चिमले विराटनगरलाई १ सय ५६ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिमले मध्यम लक्ष्य प्रस्तुत गरेपछि सबैलाई लागेको थियो, विराटनगरले सहजै जित हात पार्छ ।
किनकी विराटनगरमा विश्व चर्चित ब्याट्सम्यान छन् । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार ६ खेल जितेको थियो। गत शनिबार भएको अन्तिम खेलमा भने विराटनगरले सुदूरपश्चिममाथि सानदार जित हात पारेको हुनाले आज पनि सुदूरपश्चिम हार्ने धेरैको आँकलन थियो । तर, सुदूरपश्चिमले विराटनगरसँग उक्त हारको बदला लिदै फाइनल प्रवेश गरेपछि क्रिकेट प्रेमीहरु नै चकित परे ।
किनकी विराटनगरमागि सुदूरपश्चिमले ७७ रनको जित हात पार्दा दर्शक चकित भएका हुन् । १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाउँदा अलआउट भयो। विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले ३६ रनको सर्वाधिक योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। फाफले २९ बलमा तीन चौका र एक छक्का प्रहार गर्दा हेमन्त धामीको बलमा क्याच आउट भए। मार्चेन्ट डे लाङगे १५ रन बनाउँदा स्कट कुग्लेजिनको बलमा हरमित सिंहबाट क्याच आउट हुन पुगे। बसिर अहमदले १२ रन थपे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
विराटनगरका ब्याट्सम्यान सुदूरपश्चिमका खेलाडीसामु स्तब्ध बने । सुदूरपश्चिमका खेलाडीले फिल्डिङ र बलिङ निकै उत्कृष्ट गरे । आजको खेल विराटनगरका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिमका कप्तान दीपेन्द्र ऐरिको अग्नि परिक्षाको रुपमा पनि हेरिएको थियो । किन की यी दुबैले आफ्नो टिमलाई उत्कृष्ट जित दिलाउदै आएका थिए । त्यसैले दुबै टोलीलाई एनपीएलको उपाधिको दाबेदारको रुपमा हेरिएको थियो । तर, दीपेन्द्रसँग आज सन्दीपको पनि हार भएको छ ।
सुदूरपश्चिमसँग पराजित भएपछि विराटनगर पहिलो प्रयासमा नै उपाधि नजिक पुग्ने मौका गुमाएको छ। अब विराटनगरले फाइनल पुग्न दोस्रो मौका पाउनेछ। विराटनगरले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। एलिमिनेटर खेलमा बुधबार तेस्रो स्थानको काठमाडौँ गोर्खाज र चौथो स्थानको लुम्बिनी लायन्सबीच भिडन्त हुनेछ । एनपीएलको फाइनल शनिबार हुनेछ ।