काठमाडौं । फिल्म ‘गोबर गणेश’ को पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने फिल्मको निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको छ ।
पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन् । उनीहरू एक अर्काको अपोजिटमा रहेको पोस्टरले प्रस्ट पारेको छ । वर्षाले रिक्सा चलाउँदै छिन् भने सोही रिक्सामा बल्छी धुर्बे छन् । दुवै प्रसन्न मुद्रामा छन् । उनीहरूको मुहारले उनीहरू हाँसीखुसी जिन्दगी बिताउँदै छन् भन्ने देखिएको छ । पोस्टरले उनीहरू नगरपालिकाको फोहोर उठाउने कर्मचारी जस्ता देखिन्छन् । रिक्सामा फोहोर छ, फोहोर उठाउने डस्ट प्यान छ । बल्छीको गलामा सिठी छ ।
पृष्ठभूमिमा शहरका बाक्ला घर छन्, जो कीर्तिपुर शहर जस्तो देखिन्छ । पोस्टरमा कलर टोनजस्तो देखिने हरियो रङ छन् । यसले पोजेटिभ स्टोरी चलचित्रले भन्ने संकेत गरेको छ तर यसबारे निर्माण पक्षले केही बोलेको छैन् । ‘गोबर गणेश’ लाई श्रेष्ठ बल्छी धुर्बेले निर्देशन गर्दै छन् । छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ । पोस्टर सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले ‘गोबर गणेश’ सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि दर्शकबाट माया पाउने अपेक्षा रहेको बताएका छन् ।
दर्शकले मन पराउने विषय र प्रस्तुतिसहित आउन लागेकाले दर्शकको साथ पाउने उनको विश्वास छ । बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायत रहेका छन् ।
तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।
नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।