काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन आउन अब ८५ दिन मात्रै बाँकी छ । निर्वाचनको समय नजिकिएसँगै सरकारले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनको लागि निकै सक्रियता देखाएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा चुनाव हुने बताएकी छन् ।
सरकारले सुरक्षा निकाएका प्रमुखदेखि राजनीतिक दलका नेताहरुसँग संवाद पनि गरिरहेको छ । त्यस्तै राजनीतिक दलहरु पनि निर्वाचनको तयारीमा जुटेका छन् । २०७९ को निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसमा भने चुनावको रौनक नै देखिएको छ । फेरि पनि सबै भन्दा बढि सिट जित्दै पहिलो दल बन्ने लक्ष्यका साथ कांग्रेसले उम्मेदवार छनोट गर्न सुरु गरेको छ । जसअनुसार कांग्रेसका शीर्ष नेताहरू विभिन्न क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तिम पटक डडेल्धुराबाट चुनाव लड्ने भएका छन् । त्यस्तै, कांग्रेस महामन्त्री गगन थापालाई धनकुटा, रोल्पा र सर्लाही ४ बाट उम्मेदवार सिफारिस गरिएको छ । उनी २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-४ बाट निर्वाचित भएका थिए। थापा धनकुटा, रोल्पा र सर्लाही ४ बाट पनि उम्मेदवारका लागि सिफारिस भएका हुन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा-१ बाट उम्मेदवार सिफारिस भएका छन् ।
त्यस्तै कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत-१ र डा. शेखर कोइराला मोरङ-६ बाट उम्मेदवार सिफारिस भएका छन् । देउवा पत्नि तथा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि यसपटक प्रत्यक्षबाट निर्वाचन लड्ने भएकी छन् । गत निर्वाचनमा भने देउवाले आरजुलाई समानुपातिकबाट सांसद बनाएका थिए । तर, आगामि निर्वाचनमा भने आरजु चुनावी मैदानमा उत्रिने भएकी हुन् ।
आरजु कैलाली-५, नेता मीनेन्द्र रिजाल मोरङ-२ बाट उम्मेदवार सिफारिस भएका छन् । यसरी नेपाली कांग्रेसले धमाधम उम्मेदवार सिफारिस गरेको छ । कांग्रेसका नेताहरुले फेरि पहिलो दल बन्ने ठोकुवा गरिरहेका छन् । के कांग्रेस फागुन २१ गतेको निर्वाचनमा पहिलो दल बन्ला ? यसको लागि निर्वाचनको नतिजासम्म प्रतिक्षा गर्नुपर्नेछ ।