काठमाडौँ । नपत्याउने खोलाले पनि बगाउँछ-यो उखान अहिले ठ्याक्कै लुम्बिनी लायन्ससँग मेल खाएको छ । नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणमा लुम्बिनी लायन्स अंक तालिकाको पुछारमा सीमित रहेको थियो ।
एनपीएलको दोस्रो संस्करणमा पनि लुम्बिनीको सुरुवात निकै खराब रह्यो । अधिकांश क्रिकेट प्रेमीहरुलाई लुम्बिनी प्लेअफमा पुग्ने आशा नै थिएन । खराब सुरुवात गरेको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै प्लेअफको यात्रा तय गर्यो । लुम्बिनीले लिग चरणको खेलमा सुदूरपश्चिम, कर्णाली र काठमाडौँसँग हार व्यहोर्दा चितवन, पोखरा, जनकपुर र विराटनगरलाई हराउदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो । प्लेअफमा पुगेका चार टोली मध्ये लुम्बिनी नै अंक तालिकाको चौथौ स्थानमा थियो ।
आठ अंक जोडेको लुम्बिनीले फाइनल पुग्न लगातार दुइ खेलमा जित हात पार्नु पर्ने थियो । इलिमिनेटरको पहिलो खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान पक्का गर्यो । पहिलो जित हात पार्दा पनि फाइनल पुग्न लुम्बिनीलाई त्यति सहज थिएन । किनकी फाइनलमा पुग्न लुम्बिनीले बलियो टोली विराटनगरको सामना गर्नुपर्ने थियो । विराटनगरलाई एनपीएलको उपाधिको दाबेदार टोलीको रुपमा समेत हेरिएको थियो ।
विराटनगरले लिग चरणका खेलमा राम्रो प्रदर्शन गरेको थियो । बिहीबारको खेलमा विराटनरले सहजै जित हात पार्ने आँकलन गरिएको थियो । पहिले ब्याटिङ गरेको लुम्बिनीले जम्मा १३४ रनमात्र जोड्न सक्दा विराटनरलाई जितका लागि १२० बलमा १३५ रन आवश्यक थियो । खेल विराटनगरको कब्जामा थियो । तर, विराटनगर १७ ओभर ५ बलमा ९४ रनमा अलआउट हुँदै एनपीएलबाट बाहिरियो । विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए ।
मार्टिन गप्टिल, फाफ डु प्लेसिस, मार्चेन्ट डि लिङे जस्ता विश्व चर्चित विदेशी खेलाडीको ब्याट नचलेको अवस्थामा नेपाली खेलाडी लोकेश बम, बसिर अहमदको पनि ब्याट नचलेपछि विराटनगरको यात्रा टुंगिएको हो ।
यो सिजनमा कप्तान रोहित पौडेलको ब्याट पनि खासै चलेको थिएन । उनको नामै टुकटुके राखिएको छ । तर, रोहितको कप्तानीमा लुम्बिनी फाइनल पुगेपछि सबै दर्शक चकित परेका छन् । अब उपाधिका लागि शनिबार लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । शनिबारको खेलमा जित हात पार्ने टोली एनपीएलको उपाधि उचाल्नेछ ।