आइतवार, श्रावण २४ गते २०८३

भोलि एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच महाभिडन्त, रोहित र दीपेन्द्रको अग्नि परिक्षा, कुन टोलीले जित्ला ट्रफी ?

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौँ । नेपाली क्रिकेट प्रेमीहरुका लागि मंसिर २७ गते अर्थात भोलिको दिन खास दिन हो । भोलि नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको फाइनल खेल हुुँदैछ । एनपीएलले भोलि नयाँ विजेता टोली पाउने छ ।

फाइनल खेल टियु क्रिकेट मैदानमा साढे तिन बजेदेखि सुरु हुनेछ । उक्त समयको प्रतिक्षामा क्रिकेट प्रेमीहरु सयम हेरेर बसिरहेका छन् । एनपीएलको फाइनल खेल निकै रोचक हुने देखिन्छ । गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स र गत संस्करणको पुछारमा रहेको टोली लुम्बिनीबीच उपाधिका लागि महाभिडन्त हुने भएको हो । 

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधिको दाबेदार टोली हो। गत वर्ष फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ।

यसपटक सुदूरपश्चिम निकै बलियो पनि देखिएको छ । सुदूरपश्चिको ब्याटिङ र बलिङ घातक देखिन्छ । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार ६ खेल जितेको थियो। लिग चरणको अन्तिम खेलमा भने सुदूरपश्चिम विराटनगरसँग पराजित भयो। 

तर, पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिमले विराटनगरसँग उक्त हारको बदला लिदै फाइनल प्रवेश गर्यो । वराटनगरमाथि सुदूरपश्चिमले ७७ रनको जित हात पार्दै आफ्नो दबदबा कायमै राखेको छ । त्यस्तै गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी हात पार्ने दाउमा छ ।

लुम्बिनी एनपीएलको फाइनलमा पुग्छ भन्ने कसैलाई पनि लागेको थिएन । तर, नपत्याउने खोलाले बगाउँ छ भने झै लुम्बिनी फाइनलमा पुग्यो । 

खराब सुरुवात गरेको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै प्लेअफको यात्रा तय गर्यो ।  लुम्बिनीले लिग चरणको खेलमा सुदूरपश्चिम, कर्णाली र काठमाडौँसँग हार व्यहोर्दा चितवन, पोखरा, जनकपुर र विराटनगरलाई हराउदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्यो ।

इलिमिनेटरको पहिलो खेलमा काठमाडौं गोर्खाजलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको लुम्बिनीले दोस्रो क्वालिफायरको खेलमा बलियो टोली विराटनगरमाथि सानदार जित निकाल्दै फाइनल प्रवेश गरेपछि दर्शक नै चकित परेका छन् । 

रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने दीपेन्द्र उपकप्तान हुन् । त्यसैले यो खेललाई राष्ट्रिय क्रिकेट टिमका कप्तान र उपकप्तानको अग्नि परिक्षाको रुपमा पनि हेरिएको छ । आखिर लुम्बिनी र सुदूरपश्चिममध्ये कसले ट्रफी जित्ला ? यसका लागि भोलि बेलुकासम्म प्रतिक्षा गर्नुपर्नेछ । 

प्रतिक्रिया
सम्बन्धित समाचार