काठमाडौं । बेलारुसले प्रमुख विपक्षी कार्यकर्ता मारिया कोलेस्निकोभालगायत १२३ कैदी रिहा गरेको छ । अमेरिकाले देशमाथि लगाएको प्रतिबन्ध हटाउन सहमति जनाएपछि यो कदम चालिएको बीबीसीले जनाएको छ ।
नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्स्की पनि रिहा हुनेमध्ये एक छन् । यो रिहाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बेलारुसका निम्ति विशेष दूत जोन कोलसँग मिन्स्कमा भएको वार्तापछि गरिएको हो ।
अमेरिकाले पोटासमाथिको प्रतिबन्ध हटाउन सहमति दिएको छ । पोटास मलको एक प्रमुख तत्त्व हो । रुसको नजिकको सहयोगी बेलारुसका निम्ति यो महत्त्वपूर्ण निर्यात वस्तु मानिन्छ ।
कोलले भने, “जसरी दुई देशबीचको सम्बन्ध सामान्यीकरण हुँदै जान्छ, त्यसैअनुसार थप प्रतिबन्ध हटाइनेछ ।” बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई युरोपेली संघले पदमा मान्यता दिएको छैन ।