काठमाडौँ । अस्ट्रेलियाको बोन्डी बिच (समुद्र तट) मा आइतबार हनुक्का मनाइरहेका यहुदीहरूमाथि दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका छन्।
अस्ट्रेलियाली प्रहरीले गोली लागेर कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने २९ व्यक्ति घाइते भएको जानकारी दिएको छ।
स्थिति नियन्त्रण गर्न प्रहरीले दुवै आक्रमणकारीलाई गोली हानेको छ। अधिकारीहरूका अनुसार एक आक्रमणकारीको मृत्यु भएको छ भने अर्का गम्भीर भएका छन्।
यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटनाले स्तब्ध पारेको बताएका छन्। उनले राष्ट्रलाई सम्बोधन गर्दै भनेका छन्, ‘यहुदी जनतामाथिको आक्रमण हरेक अस्ट्रेलियालीमाथिको आक्रमण हो।’
उनले अगाडि भनेका छन्, ‘हाम्रो देशमा घृणा, हिंसा र आतंकवादका लागि कुनै ठाउँ छैन। म स्पष्ट पार्न चाहन्छु- हामी यसलाई पूर्ण रूपमा अन्त्य गर्नेछौँ।’
न्यु साउथ वेल्सका प्रहरी आयुक्त एम लान्योनका अनुसार घटना अस्ट्रेलियाको पूर्वी दिवा समयअनुसार आइतबार साँझ ६:४७ बजे बोन्डी बिचको आर्चर पार्कनजिकै भएको हो। बीबीसी संवाददाता टेसा वोङका अनुसार, यो घटना 'बोन्डी बिच'को उत्तरी भागमा भिडभाड भएको क्षेत्रमा भएको हो।