काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदानको समय परिवर्तन भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका संशोधन गर्दै आज (मंगलबार) साँझ ७ बजेदेखि मात्र मतदान सुरु हुने जनाएको छ । आयोगका सचिव डा. कुन्साङ लामाद्वारा जारी सूचना अनुसार मतदान प्रक्रिया आज साँझ ७ बजे सुरु भई भोलि (पुस २ गते) बिहान १ बजेसम्म चल्नेछ । यसअघि आयोगले आजै दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको थियो ।
निर्वाचन आयोगका अनुसार आन्तरिक प्राविधिक तयारी पूरा नहुँदा मतदान पछि धकेलिएको हो । विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको नामावली इन्ट्री गर्ने क्रममा क्रमसंख्या तलमाथि परेको र त्यसलाई सच्याउन समय लागेकाले निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको आयोगले जनाएको छ ।
नेतृत्व चयनका लागि ‘रामलक्ष्मण भोटिङ मेसिन’ को प्रयोग गरिँदैछ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।