आइतवार, श्रावण २४ गते २०८३

एमाले अध्यक्षमा पराजित भए ओली पक्राउ पर्न सक्छन्, यस्तो छ कारण !

बुधवार , पौष २, २०८२

काठमाडौँ । यतिबेला सबैको नजर नेकपा एमालेको ११ औँ महाधिवेशनमाथि परेको छ । ११ औँ महाधिवेशनबाट एमालेले नयाँ नेतृत्व पाउदैँछ । एमालेको भावि नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा होमिएका छन् ।

यी दुबै जनामध्ये एमालेको अध्यक्ष को बन्छ ? यस विषयले नेपाली राजनीतिदेखि भूराजनीतिसम्म असर पर्नेछ । त्यसैले एमालेको ११ औँ महाधिवेशन चासोको साथ हेरिएको छ ।

एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । आज बिहान अध्यक्षका प्रत्याशी ओली र ईश्वर पोखरेलले मत हालेर सुरु गरेको मतदान जारी नै छ । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका हुन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट । मतदान आज रातभर हुने जनाइएको छ । 

पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा मैदानमा उत्रिएको ईश्वर समुह ओलीलाई हराउन लागि परेको छ । यदि ओली अध्यक्षमा पराजित भए उनका लागि खतराको घण्टी बज्नेछ । ओली शक्तिबिहीन हुँदा भदौ २३ गतेको घटनामा उनि पक्राउ पर्ने सम्भवाना छ । जेनजी आन्दोलनमा भएका घटनाक्रम छानबिन गर्न बनेको जाचबुझ आयोगले अर्को साता ओलीलाई बयानमा पनि बोलाएको छ ।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा छलफल गरेपछि अयोगका अध्यक्ष गौरीबहादुर कार्कीले राजनीतिक दलका नेतालाई बोलाउने तयारी गरेको बताएका हुन् । ओली बयान नदिन आएको अवस्थामा कस्तो कदम चाल्ने ? यस विषयमा समेत प्रधानमन्त्री र अध्यक्ष कार्कीबीच छलफल भएको बुझिएको छ । 

ओलीलाई बयानका लागि बोलाए सिंहदरबार भित्र लाखौँ कार्यकर्ता छिर्नेसम्मका धम्की एमालेका नेता र कार्यकर्ताहरुले दिइरहेका छन् । तर, एमालेको नेतृत्व ईश्वरको हातमा गएपछि ओली शक्तिबिहीन हुन्छन् । यस्तो अवस्थामा आयोगले ओलीसँग बयान लिनसक्छ । अर्कोतर्फ अन्तरिम सरकारले पनि ओलीलाई पक्राउ गर्न सक्छ । भदौ २४ गते राजनीतिक परिवर्तन भएदेखि अहिलेसम्म ओलीलाई पक्राउ गर्न सरकारले अनेक प्रयास पनि गर्यो ।

सरकारले प्रहरीलाई निर्देशनसमेत दिदाँ ओली पक्राउ पर्न सकेनन् । किनकी ओलीका पछाडि एमालेको शक्ति छ । तर, ओली अध्यक्षमा पराजित भएपछि उनि निकै अफ्ठ्यारोमा पर्नेछन् । विद्या भण्डारी र ईश्वरले भदौ २३ गतेको जेनजी आन्दोलनको जिम्मेवारी तत्कालिन ओली सरकारले लिनुपर्ने बताइसकेका छन् ।

ओलीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने मतमा भण्डारी र पोखरेल छन् । यसैबीच एमालेको अध्यक्षमा पराजित भए ओली पक्राउ पर्न सक्छन् । तर, एमालेको ११ औँ महाधिवेशनबाट ओली पून नेतृत्वमा आउने देखिन्छन् । किनकी एमालेमा ओली समुह पोखरेल पक्षभन्दा बलियो छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार