काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई जनताको शक्तिमा विश्वास रहेको बताएका छन् ।
सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भई करिब ८ महिनापछि केन्द्रीय कार्यालय पुगेका उनले ४० लाखले हस्ताक्षर गरेर आफू एक्लो नरहेको महसुस गराएको बताएका छन् । लामिछानेले भने, ‘मलाई जनताको ताकतमा विश्वास छ, मैले विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेर कुरा बुझ्न बाँकी छ । त्यसपछि म अरू धेरै राजनीतिक टिप्पणी गर्नेछु ।’
न्यायको लडाइँ अझै जारी रहेको उल्लेख गर्दै उनले भने, ‘मैले न्यायको लडाइँ लड्न अझै बाँकी नै छ । तर मलाई विश्वास छ–सत्यले हारेको छैन् ।’ आफ्नो पक्षमा चलेको हस्ताक्षर अभियानप्रति आभार व्यक्त गर्दै लामिछानेले भने, ‘यो लडाइँमा तपाईंहरूले जुन साथ र हौसला दिनुभयो, त्यसका लागि म आभारी छु । विशेषगरी हस्ताक्षर अभियानमार्फत ४० लाख जनाले ‘तपाईं एक्लै हुनुहुन्न’ भन्ने हौसला दिनुभयो ।’
आफ्नो अनुपस्थितिमा पार्टीको जिम्मेवारी सम्हालेका कार्यवाहक सभापति डीपी अर्याललाई धन्यवाद समेत दिएका छन् । लामिछानेले भने, ‘मेरो अनुपस्थितिमा कार्यवाहक सभापति डीपी अर्याललाई धन्यवाद दिन चाहन्छु । अन्य सबै साथीहरूको योगदानलाई पनि एकमुष्ट स्मरण गर्न चाहन्छु ।’
पार्टीबाट अलग भएकाहरुलाई आफ्नै कारणले बाहिरिएको भन्दै शुभकामना समेत दिएका छन् । लामिछानेले भने, ‘आफ्नै कारणले छुट्टिएर गएका साथीहरूलाई पनि म शुभकामना दिन चाहन्छु । हाम्रा लागि तपाईंहरूले धेरै योगदान दिनुभएको छ ।’