काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सोमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको गृहमन्त्री अर्यालको भनाइ छ ।
उनकाअनुसार पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हुनुपर्छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना र पहिला नै व्यवस्थित गरिएको श्रोत साधन अनिवार्य रहेको उल्लेख गरेका छन् ।
गृहमन्त्री अर्यालले भने, ‘नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन तीन कुराहरु महत्वपूर्ण छन् । जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हो ।’
उनले भने, ‘पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना हो भने तेस्रो पहिला नै व्यवस्थित गरिएको श्रोत साधन हो । जसले संकटको बेला ढिलाइ नगरी काम गर्न मद्दत गर्दछ । विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध छ ।’
गृहमन्त्री अर्यालले नेपाल बहुप्रकोपिय विपद् जोखिमको हिसावले संवेदनशिल मुलुक भएको बताउनु हुँदै बाढी, पहिरो, खडेरी, आगलागी, चट्याङ, तातो हावाको लहर, अत्याधिक गर्मी, शितलहर, महामारी जस्ता जल तथा मौसमजन्य प्रकोपहरुले नेपालमा हुने कुल विपद्को ठूलो हिस्सा ओगटेको बताएका छन् ।
उनले जलवायु परिवर्तनका कारण यस्ता जोखिमहरु अझ अनिश्चित, तीव्र र बारम्बार देखिन थालेको बताएका छन् । उनले विपद्जन्य घटनाको कारण मुलुकले वर्षेनी जनधनको ठूलो क्षति व्यहोरिरहेको बताएका छन् ।