रवि र बालेनलाई वार्तापछि एउटै गाडीमा बिदा गरेका रास्वपा नेता शाहले राति १ः४२ बजे फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन-दुई दाजु-भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई!’
लामिछाने र बालेनबीच मध्यरातमा असिम शाहकै म्युजिक कम्पनी जी २१ को कार्यालयमा भेटवार्ता भएको हो। असिम पनि रास्वपाका नेता हुन्। वार्ता सकेर रवि र बालेन एउटै गाडिमा निस्केका थिए।
रवि र बालेनबीच सोमबार बिहान पनि छलफल भएको थियो। शाहको कमलपोखरीस्थित कार्यालयमा साेमबार साँझ करिब ७ बजेदेखि सुरु भएको वार्ता राति करिब डेढ बजेसम्म चलेको थियो। उनीहरूबीच सहकार्यको ढाँचा, शक्ति बाँडफाँट र भावी राजनीतिक रणनीतिका विषयमा छलफल भएको बुझिएको छ।
यो वार्तापछि दुवैजना सहकार्य गर्ने विषयमा सहमत भएका छन्। निर्वाचनअघि सबै वैकल्पिक शक्तिहरूलाई एकै ठाउँ ल्याउने गरी उनीहरूबीच सघन छलफल भएको हाे।
६ घण्टाको बसाईमा उनीहरुबीच सामूहिक र एक्ला–एक्लै पनि वार्ता भएको छ। अन्तिममा उनीहरुले मिलेर जाने र एक–अर्कालाई साथ दिने निष्कर्ष निकालेका छलफलमा सहभागी नेताहरुले बताएका छन्।