काठमाडौँ ।निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ दर्ता राजनीतिक दलहरूलाई आज (पुस ८ गते) देखि उम्मेदवार छनोटका विषयमा प्रशिक्षण दिने भएको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार सिफारिस गर्दा कुन जाति वा समुदायको कति प्रतिशत हिस्सा हुनुपर्ने हो भन्ने विषयमा दलहरू प्रायः अन्योलमा रहेको पाइएकाले आज र भोलि २ दिन तालिम दिन लागिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार उम्मेदवारको बन्द सूची बुझाउँदा र अन्तिममा निर्वाचित घोषणा गर्दा अपनाउनुपर्ने कानुनी 'फर्मुला'बारे प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा नयाँ-पुराना, साना-ठूला दलका तालिममा सहभागी हुनेछन्।
समानुपातिक निर्वाचन प्रणालीमा पछिल्लो राष्ट्रिय जनगणनाअनुसार समावेशी प्रतिशत फाइनल गरेपछि निर्वाचन आयोगले दलका नेताहरूलाई तालिम दिन लागेको हो।
विगतका निर्वाचनहरूमा दलहरूले बुझाएको सूचीमा समावेशी मापदण्ड नपुग्दा आयोगले पटकपटक सच्याउन निर्देशन दिनुपरेको थियो। यसले निर्वाचन प्रक्रियामा ढिलाइ भएको मात्र होइन विवाद समेत बढाएको थियो।
नयाँ दलहरूका लागि समावेशी निर्वाचन प्रणाली बुझ्न अझ चुनौतीपूर्ण हुन सक्छ।