काठमाडौं । ठूला ३ दलका शीर्ष नेताले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई आज भेट्न लागेका हुन् । उनीहरु आफैँले राष्ट्रपतिको समय लिएर भेट्न जान लागेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘राष्ट्रपतिज्यूले बोलाउनुभएको होइन, उहाँहरु आफैँ टाइम लिएर भेट्न आउँछौँ भन्नु भएको हो ।’ उनीहरु दिउँसो ३ बजे शीतल निवास जान लागेका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्रपतिले पहिलो पटक राष्ट्रपतिलाई औपचारिक रुपमा भेट्न लागेका हुन् ।
यसअघि राष्ट्रपतिले तीन ठूला दलका दोस्रो, तेस्रो तहका नेताहरुसँग भने औपचारिक छलफल गरिसकेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष नेताहरुसँग भेट्न अनिच्छा देखाएपछि राजनीतिक दलका नेताहरुले त्यसको आलोचना गर्दै आएका थिए ।
राजनीतिक दलका नेताहरुसँग संवाद नै गर्न नचाहने सरकारले फागुन २१ गते चुनाव गराउन नसक्ने उनीहरुले तर्क गर्दै आएका छन् ।