काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले जुम्ला लगायत कर्णालीका दूरदराजमा मोबाइल टावर भए पनि नेटवर्क नआउने समस्या औंल्याउँदै सञ्चारमन्त्रीको आलोचना गरेका छन् ।
सञ्चारमन्त्री जगदीश खरेलको राजधानीका विभिन्न स्थानमा ‘फ्री वाइफाइ’ को घोषणा गरेता पनि दूरदराजका समस्यामा ध्यान नदिएको भन्दै शाहीले बुधबार सामाजिक सञ्जालमार्फत सञ्चारमन्त्रीको आलोचना गरेका हुन् । शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन । यता सञ्चारमन्त्री ‘फ्रि वाइफाइ’ भन्दै गफ चुट्छन् । यो समस्या जुम्लाको मात्र होइन, सिङ्गो कर्णाली र दूरदराजको समस्या हो ।’
उनले सरकार र नेतृत्व फेरिए पनि कर्णाली र दुर्गम क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएको बताएका छन् । जुनसुकै नयाँ मान्छे र नेतृत्व आए पनि कर्णालीलाई गर्ने व्यवहार उस्तै रहेको उनको आशय थियो ।
सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण गराउँदै उनले भनेका छन्, ‘त्यसैले भन्छु– सञ्चारमन्त्रीज्यू गफ चुट्ने होइन, टावर बनाइदिएका छौं, नेटवर्क सञ्चालन गरिदिनुहोस् ।’