काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आजको दिन भेटवार्तामा बिताएका छन् ।१५ घण्टा भेटवार्ता गरेर आज राति करिब सात बजेपछि मात्रै बालेन निस्किएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जेलबाट छुटेपछि सोमबार राति बालेन र रविबीच ६ घण्टा छलफल भएको थियो । त्यसपछि भने बालेनले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । रवि जेल हुँदा बालेन गुमनाम जस्तै थिए । उनि चुनाव लड्ने वा नलड्ने समेत टुंगो थिएन ।
तर, रविसँगको भेटवार्तापछि बालेनको सक्रियता ह्वात्तै बढेको हो । आज ललितपुरको कुुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा रवि र बालेनबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने दिउँसो निस्किएका थिए । रवि निस्कएपछि बालेन भेट्न पुग्नेहरुको लर्को नै लाग्यो । रवि लामिछाने बाहिरिएपछि निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंह उनलाई भेट्न पुगे । अमरेशपछि रास्वपाका नेता शिशिर खनाल बालेनलाई भेट्न पुगे ।
शिशिर पछि रक्षा बम, पुरूषोत्तम यादव, युजन राजभण्डारी, रोहनराज दंगाल, जेम्स कार्की, सुदन गुरूङ लगायतका जेनजी प्रतिनिधि बालेनलाई भेट्न पुगे । जेनजीको समुहपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बालेनलाई भेट्न पुगे । भट्टराईपछि खगेन्द्र सुनार पनि बालेनलाई भेट्न पुगेका थिए । आज करिब १५ घण्टा बालेनले भेटवार्तामै बिताएका छन् । आजको भेटवार्ताले कुनै खास निकास भने दिएन । फेरि भोलिदेखि भेटवार्ताले निरन्तरता पाउने जनाइएको छ ।
बिहानैदेखि ‘म्याराथन मिटिङ’ गरिरहेका मेयर बालेनले आफू संसदीय राजनीतिमा प्रवेश गरेको प्रस्ट सन्देश मात्र दिएका छैनन्, सबै नयाँ शक्ति मिलेर एकीकृत रूपले चुनाव लड्न आह्वान पनि गरेका छन् । यदि यी सबै शक्ति एक ठाउँमा उभिए भने फागुन २१ गतेको चुनावमा दलहरुलाई ठुलै धक्का लाग्ने छ ।