काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै पार्टी बनाउन सहमत भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जस्ता पुराना शक्तिहरूलाई विस्थापित गर्न नयाँ शक्तिबीच एउटै फोर्स निर्माणको छलफल अन्तिम चरणमा पुगेको एक नेताले जानकारी दिएका छन् । ‘भोलिसम्ममा ठोस परिणाम देखिनेछ। रवि, बालेन र कुलमानको एउटै पार्टी हुनेछ,’ तीन नेताबीचको छलफलमा सहभागी एक नेताले भने, ‘यो चुनावी एलाइन्स मात्र हुने छैन, पार्टी नै एक हुनेगरि हामी छलफल गरिरहेका छौँ । अब त्यो छलफल अन्तिम चरणमा पुग्न लागेको छ ।’
यस विषयमा मेयर बालेन र मन्त्री घिसिङबीच हिजो राति डेढ बजेसम्म छलफल भएको थियो । त्यो छलफलमा धेरै विषय क्लियर भएको ती नेताले बताएका छन् । तीन नेताबीच आज पनि छलफल हुने उनले बताएका छन् । उनले भने, ‘यहाँ कुनै पनि पद र अन्य विषयको बार्गेनिङ भएको छैन् । अब कुनै पनि हालतमा यो एकता रोकिँदैन् । भोलिसम्म एकता भएको विज्ञप्ति आइसक्छ । परिणाम निस्कन्छ ।’
तीन नेताबीचको छलफलमा पार्टीका अध्यक्ष रवि लामिछाने नै रहने सहमति पनि भएको उनले बताएका छन् । उनले भने, ‘यो एकतापछि चुनाव चिह्न घण्टी नै हुनेछ, चुनाव चिह्नमा कुनै पनि समस्या छैन् । फेरि घण्टी चुनाव चिह्न अघिल्लो निर्वाचनमा जनताले अनुमोदन गरिसकेको कारण त्यसमा कुनै फेरबदल हुँदैन् ।’
विगतदेखि नै रवि, बालेन र कुलमानबीच एकताको पहल गर्दै आएका निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आगामी चुनावमा कांग्रेस, एमाले र नेकपाले गठबन्धन गर्न सक्ने भएकाले नयाँ शक्ति पनि एक हुनुको विकल्प नभएको बताएका छन् ।
उनले नयाँ शक्ति एउटै भएर निर्वाचनमा जाँदा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनसक्ने संकेत गरेका छन् । सिंहले भने, ‘बालेनलाई अबको प्रधानमन्त्री नकार्न सकिँदैन ।’