काठमाडौँ । गत भदौ २३ र २४ गतेको जनेजी आन्दोलनपछि अधिकांशले भन्ने गरेका थिए-‘वैकल्पिक शक्तिहरु एक ठाउँमा आए मन खुसी हुने थियो ।’
यदि वैकल्पिक शक्तिहरु एक ठाउँमा नआए फागुन २१ गतेको निर्वाचनपछि उनै पुराना दल सत्तामा आएर रजगज गर्ने डर थियो । तर, अब वैकल्पिक शक्तिहरु एक ठाउँमा आउने निश्चित जस्तै भएको छ । केबल हस्ताक्षर हुन मात्रै बाँकी छ । आज राति केही त्यस्तो तलमाथि नभए हस्ताक्षर भोलि हुने तयारी भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच एक भएर जाने सहमति जुटेको हो । रवि र बालेन पक्षका दुई-दुई जना रहेको चार सदस्यीय वार्ता समितिबीच आज भएको छलफलमा सहमति जुटेसँगै भोलि सम्झौता पत्रमा बालेन र रविले हस्ताक्षर गर्ने भएका हुन् ।
मेयर शाहलाई रास्वपामा रवि पछिको दोस्रो बरियता अर्थात सहसभापति र पहिलो चरणमा प्रधानमन्त्री बनाउने सहमति भएको छ । त्यस्तै केन्द्रीय समितिमा मेयर बालेन शाह पक्ष र जेनजीहरुलाई पनि समेट्ने प्रस्ताव गरिएको छ । वार्ता समितिका बीचमा लगभग सहमति जुटेको छ भने त्यसलाई अन्तिम रूप भोलि दिइनेछ ।
बालेन र जनेजी अभियान्ताहरु आएसँगै रास्वपा निकै बलियो हुनेछ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहरदेखि गाउँ गाउँ सम्मै घण्टी बज्ने देखिन्छ । उता पुराना दलहरुलाई भने ठुलै धक्का लाग्ने सम्भावना छ । निर्वाचनपछि नयाँ सरकार गठन गर्न १३८ सिट चाहिन्छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरि जम्मा २७५ सिटका लागि निर्वाचन हुदैँछ। २७५ सिटमा १३८ सिटसहित बहुमत जसले ल्याउँछ त्यही दलको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ ।