काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको एकतामा कुलमान घिसिङ सहभागि भएका छैनन् ।
उज्यालो नेपाल पार्टीका संरक्षक तथा उर्जामन्त्री घिसिङले एकता सम्भव नभएको बताएका हुन् । यदी वैकल्पिक शक्तिहरु एक ठाउँमा नआए उनै पुराना दलहरु आएर रजगज गर्ने भएकाले सबै मिलेर जानुपर्ने निष्कर्ष सहित रवि र बालेनबीच सात बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बालेनलाई भावि प्रधानमन्त्री र रास्वपाको सहसभापति बनाउने, कुलमानलाई वरिष्ठ नेता बनाउने रविको प्रस्ताव थियो । रविको प्रस्तावमा बालेन सहमत भएर एकता नै गरे । तर, कुलमानले आफूलाई प्रधानमन्त्री बनाउने भए मात्रै एकता हुने सन्देश सुनाए । खासगरि कुलमानले प्रधानमन्त्रीमा आलोपालो सहमति गर्नुपर्ने माग राखेका थिए । तर कुलमानको प्रस्ताव बालेनले अस्वीकार गरे ।
जेनजी आन्दोलनको म्यान्डेट नै आफू ५ वर्ष प्रधानमन्त्री हुनुपर्छ भन्ने रहेको बालेनले तर्क गरेका थिए । फेरि कुलमानले एकताका लागि अर्को सर्त पनि राखे । पार्टीको नाम र चुनाव चिह्न पनि बदल्नु पर्ने कुलमानको सर्त थियो । पार्टीको नाम उज्यालो नेपाल पार्टी र चुनाव चिन्ह चिम नै राखिनु पर्ने कुलमानको अडान हो । तर, रविले कुलमानको उक्त माग सुनेनन् ।
त्यसपछि फागुन २१ गतेको निर्वाचनमा उज्यालो नेपाल पार्टी जिरो हुन तयार तर बालेन र रविसँग विलय हुने गरि कुनै पनि हालतमा सहमति नगर्ने निष्कर्षमा कुलमान पुगेका हुन् । बालेनसँगको सहमतिपछि रविले कुलमानलाई लक्षित गर्दै सहमति भनेको नेताले खोजेजस्तो होइन, देशलाई चाहिएजस्तो हुनुपर्छ भनेका छन् । बालेन र रविसँग एकता नगरि चुनावमा एक्दै जाँदा कुलमानलाई भारि पर्ने देखिन्छ ।