काठमाडौँ । पुस १० गतेसम्म फागुन २१ मा चुनाव हुने नहुनेमा शंका नै थियो । नेकपा एमालेले चुनाव नहुने ठोकुवा गरिरहेको थियो । पछिल्लो समय ठाउँ ठाउँमा जेनजी र एमालेका कार्यकर्ता भिड्न थालेपछि चुनावका लागि शान्ति सुरक्षा चुनौती पूर्ण देखियो ।
जसले गर्दा देश झनै संकटमा धकेलिने चिन्ता बढिरहेको थियो । तर, अब तोकिएकै समयमा चुनाव हुने सम्भावना बढेको छ । अन्तरिम सरकारले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको मन जितेपछि चुनाव हुने सम्भावना बढेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई सहयोग गर्दै चुनावमा जान तयार भएका छन् ।
नेताहरुको मन जित्न सरकारले निकै सक्रिया देखाएको थियो । सबैभन्दा पहिला सरकारले सञ्चारमन्त्री जगदीश खरेलसहितको टोलीलाई दलका पार्टी कार्यालय अनुगन गर्न लगायो । त्यसपछि गत शुक्रबार सञ्चारमन्त्री खरेलले देउवा, ओली र प्रचण्डलाई भेटेर नै बालुवाटार आउन निम्तो दिए । अनि शनिबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की, तीन शीर्ष नेताको बैठक बस्यो । जेनजी आन्दोलनपछि पहिलो पटक दलका नेताहरु बालुवाटार पुगेका थिए ।
बालुवाटारको छलफलपछि तीनै नेताले निर्वाचनमा जान तयार भएको सन्देश दिए । देउवा, ओली र प्रचण्डले चुनावका लागि सरकारलाई आवश्यक सहयोग गर्ने र सरकारले शान्तिपूर्ण बातावरण बनाउनको लागि अझै भूमिका खेल्नुपर्ने तर्क गरेका छन् । प्रमुख राजनीतिक दल चुनावमा जान तयार भएसँगै अब फागुन २१ गतेपछि मुलुकले निकास पाउने देखिन्छ ।
यो सरकारको जनादेश भनेको फागुन २१ गते निर्वाचन गराउनु हो । उक्त मितिमा चुनाव गर्न नसके सरकारको औचित्यमाथि प्रश्न उठ्छ । त्यसैले अब राजनीतिक दलहरु पनि निर्वाचनमा जान तयार भएसँगै देश थप संकटतर्फ धकेलिनबाट जोगिएको छ ।