काठमाडौं । गुरुङ समुदायको पर्व तमु ल्होसार देशभर हर्षोल्लासका साथ मनाइएको छ । काठमाडौंको टुँडिखेलमा हजारौँ गुरुङ समुदायका मानिसहरू परम्परागत भेषभूषामा भेला भई सांस्कृतिक कार्यक्रममार्फत नयाँ वर्षको स्वागत गरेका छन् ।
तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो, जहाँ ‘ल्हो’ वर्ष र‘सार’ फेरिनुलाई जनाउँछ । यस पर्वलाई पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागतको प्रतीकका रूपमा मनाइन्छ । सूर्यको ताप चाँडो पुग्ने विश्वासका कारण गुरुङ बाहुल्य जिल्लाहरूमा पुस १५ मा यो पर्व मनाउने परम्परा छ ।
साथै, सबैभन्दा लामो रातपछि उज्यालो बढ्दै जाने भएकाले यसलाई उज्यालोको विजयको प्रतीक पनि मानिन्छ । तमु ल्होसारको अवसरमा संघीय सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।