आइतवार, श्रावण २४ गते २०८३

समानुपातिक उम्मेदवार छनोटमा रास्वपाको मनपरी, पश्चिमलाई हेपियो, चर्चितलाई मात्र प्राथमिकता दिएपछि...

मंगलवार , पौष १५, २०८२

काठमाडौँ । वैकल्पिक शक्तिको रुपमा अगाडि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चौतर्फी आलोचना भइरहेको छ ।

नेपाली राजनीतिका चर्चित पात्र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह,उर्जामन्त्री कुलमान घिसिङ र रास्वपाका सभापति रवि लामिछानेबीच एकता हुँदा निकै उत्साह ल्याएको थियो । नयाँ एक ठाउँमा उभिएपछि रास्वपाले मुलुकलाई निकास दिने अपेक्षा गरिएको थियो । तर, त्यो अपेक्षा लामो समय टिक्न सकेन ।

निर्वाचन आयोगमा समानुपातिकतर्फ ११० जना छनोट गरेर पठाएको उम्मेदवारको सूचीले रास्वपाको चौतर्फी आलोचना भइरहेको छ । रास्वपा केबल चर्चित अुनहार र पहँच हुनेहरुको पार्टी मात्रै भएको भन्दै चर्को आलोचना भएको हो । 

रास्वपाले सोमबार राति ढिलो गरी समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको थियो । बालेन साह र कुलमान घिसिङसँग एकीकरण गरेपछि सूची बुझाउन ढिला भएको थियो। तीन समूहमा भागबण्डा गरेर रास्वपाले ११० जनाको सूची बुझायो । तर रास्वपाको सूचीमा एउटै जिल्लाबाट २१ जनाको नाम समावेश गरिएको छ।

रास्वपाका सभापति  लामिछानेको निर्वाचन क्षेत्र समेत रहेको चितवनबाट २१ जनाको नाम बन्दसूचीमा समावेश गरिएको हो। उम्मेदवार छनोटमा पश्चिम नेपाललाई हेपिएको देखिन्छ ।  चितवनबाट मात्र २१ जना छनोट हुँदा सुदूरपश्चिमका ९ जिल्लाबाट २ जना, कर्णालीका १० जिल्लाबाट २ जना मात्र छनोट भए । 

समानुपातिक निर्वाचन प्रणालीको विषेशता भनेको समावेशी प्रतिनिधित्व हुनु हो । महिला, दलित, आदिवासी, जनजाती, मदेशी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रका नागरिकहरुलाई प्रतिनिधित्व दिन समानुपातिक निर्वाचन प्रणाली लागु गरिएको हो । प्रत्यक्षतर्फ चुनाव लड्दा पहँच भएकाहरुले जित हात पार्ने सम्भावना भएकाले समानुपातिकमा पहुँच नभएकाहरुलाई समेट्नु पर्ने हुन्छ । तर, रास्वपामा समानुपातिकतर्फ उम्मेदवारी छनोटमा मनपरी भएको देखिन्छ ।

सुदूरपश्चिम र कर्णालीका विकट जिल्लाबाट समानुपातिक कोटामा अटाउन सकेनन् । समानुपातिकतर्फ उम्मेदवार छनोट गरिएका अधिकांश चर्चित अनुहार मात्रै छन् । अनुपकुमार उपाध्याय उज्यालो पार्टीका अध्यक्ष हुन् । उनलाई समेत रास्वपाले समानुपातिक सूचीमा राखेको छ । त्यस्तै समानुपातिक बन्दसूचीमा चर्चित गायक प्रकाश सपुत, क्रिकेटर ज्ञानेन्द्र मल्ल, नायिका रिमा विश्वकर्मासम्मलाई समेटिएको छ।

त्यस्तै पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ समानुपातिक सूचीमा परेकी छिन् ।  उनी २०१९ को मिस नेपाल विजेता हुन् ।  त्यस्तै फिल्म निर्माता, अभिनेता तथा टेलिभिजन प्रस्तोता आसिफ शाह, गायिका सत्यकला राई र त्रिसाला गुरूङ पनि सूचीमा छन् ।  
खासमा पहुँच नहुनेहरूलाई समानुपातिकबाट उम्मेदवार बनाएर सांसद बनाउनु पर्नेमा चर्चित अनुहारलाई प्राथमिकता दिएपछि रास्वपाको नियतमाथि प्रश्न उठेको छ ।

जेनजीको असन्तुष्टि

जेनजी अभियन्ता भावना राउतले रास्वपालाई लक्षित गर्दै टिप्पणी गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसकुबमार्फत राउतले रास्वपाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्टि जनाएकी हुन् ।

‘समानुपातिक कसका लागि बनाइएको हो स्पष्ट छ । तर आज प्रश्न यो हो यसलाई कब्जा कसले ग‍र्यो ? निर्वाचन लड्न सक्ने शक्ति, पैसा, पहुँच र पहिचान भएकाहरूलाई समानुपातिक सूचीमा बस्दा अलिकति पनि लाज लागेन? के यहीका लागि आन्दोलन भयो ? के यहीका लागि जनआन्दोलन र रगत बगाइयो ? सुदूरपश्चिम, मधेस, दलित, जनजाति उनीहरूलाई आन्दोलनको अगाडि राख्ने, तर सत्ता र निर्णयको कुर्सीमा फेरि सहरका ‘ब्रान्डेड अनुहार’ मात्र ? यो प्रतिनिधित्व होइन, यो त खुला धोका हो । आफूलाई ‘वैकल्पिक’ भन्नेहरू झनै जिम्मेवार हुनुपर्ने होइन ? पुरानाले गरेको अन्याय दोहोर्‍याएर तिमीहरू कसरी नयाँ राजनीति भएको दाबी गर्छौ । समानुपातिक त तिनका लागि होइन र जसले सधैँ अवसरको ढोका बन्द पाए। अरूको अधिकार खोसेर ‘परिवर्तन’ बेच्ने यो कस्तो राजनीति हो ?’, उनले भनेकी छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार