काठमाडौं। अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन्। उनले मंगलबार आफुले मुख्यमन्त्री दावी गर्ने प्रतिक्रिया दिएका हुन्।
मंगलबारै नेकपा एमालेका १२ सांसद एकीकृत समाजवादी पार्टी रोजी सनाखत गरेपछि उनले यस्तो बताएका हुन्। १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।
तर त्यही दिन नेकपा एमाले विभाजन भएको थियो। राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ । मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिएका छन् ।