काठमाडौं । लामो समयदेखी सडकमा थुप्रिएका काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ । ल्याण्डफिल साइट नुवाकोट सिसडोल बन्चरे क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै फोहोर व्यवस्थापनमा अवरोध गरेका थिए।
मंगलबार भएको वार्तामा फोहोरको अवरोध हटाउन सहमत भएपछि आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो। काठमाडौंमा लामो समयदेखि फोहोर उठ्न सकेको छैन।
मंगलबार काठमाडौं महानगरको वातावरण तथा कृषि विभागका प्रमुख हरिकुमार श्रेष्ठ र ककनी गाउँपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीसहित सिसडोल बन्चरे क्षेत्रका स्थानीयबीच भएको वार्ताबाट १४ बुँदे सहमति अब निर्बाध फोहोर ढुवानी हुने भएको छ।
सम्झौतामा तीनपिप्ले-सिसडोल सडक १५ दिनभित्र ग्राभेल र त्यसपछि पिच गर्ने, यस सडक खण्डमा र महालक्ष्मी मन्दिर परिसरमा वृक्षारोपण गर्ने, फोहोर ढुवानी गर्ने गाडीहरूले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, तीनपिप्ले-सिसडोल सडकखण्डमा पार्किङ गर्न नपाइने, यस क्षेत्रको सडकलाई कित्ताकाट गरी मुआब्जा प्राप्त गर्ने विषयमा काठमाडौं हानगरका प्रमुखसँग छलफल गर्ने, ओभर लोड गर्न नपाइने, फोहोर बोकेका गाडी सफा गरेर मात्र पार्किङ गर्न पाइने, फोहोर ढुवानी सवारीका लागि बिहान ४ बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि टाइम कार्ड लागु गर्नेलगायत विषय छन् ।