काठमाडौं। इराकमा १२ जना नेपालीको घाँटी रेटि गरिएको हत्या भएको आज १८ वर्ष पुरा भएको छ। जोर्डन हुँदै इराक पुगेका १२ नेपाली नागरिकलाई इराकी अतिवादी समूह सुन्नीले २०६१ साल भदौ १५ गते राति हत्या गरेको थियो ।
इराकमा रहेको अमेरिकी कम्पनीमा खाना पकाउने तथा सरसफाई गर्ने कामका लागि काठामाडौंको मुनलाइट मेनपावर (कन्सल्टेन्सी) मार्फत भदौमा त्यहाँ पुगेका नेपाली नागरिकलाई ति अतिवादी समुह सुन्नीले भदौ ४ गते अपहरण गरी नेपाल सरकारलाई सुचना दिएको थियो।
नेपाल सरकारले आफ्ना नागरिकलाई बचाउन कोसिस गरेको भए पनि त्यो सम्भव भएन र अन्त्यमा अतिवादी समूहले घाँटी रेटेर तथा टाउकोमा गोली हानेर उनीहरुको हत्या गरेको थियो । हत्यापछि भिडियोसमेत सार्वजनिक भएको थियो।
मेनपावर कम्पनीबाट गएका नेपाली नागरिकको विभत्स हत्या भएपछि २०६१ भदौ १६ अर्थात् आजैका दिन काठमाडौं उपत्यकामा रहेका अधिकांश मेनपावर कम्पनीमा आक्रोशित सर्वसाधारणले आगजनी गरेका थिए ।
अधिकांश मेनपावर कम्पनीमा आगो लगाइएको थियो भने तोडफोड र लुटपाटसमेत गरिएको थियो । त्यतिबेला मेनपावर कम्पनीहरुको करोडौंको क्षति भएको थियो । त्यसपछि मेनपावर कम्पनीहरुले भदौ १६ लाई कालो दिनका रुपमा मनाउने गरेका छन् ।
२०६१ भदौ १६ को घटनापछि नेपाल सरकारले नेपाली नागरिकहरुलाई इराक जान प्रतिबन्ध लगाएको छ। तर, इराकमा अहिले पनि विभिन्न मेनपावर कम्पनीले अवैध ढङ्गबाट नेपाली नागरिकहरुलाई इराक पठाउने गरेका छन् ।