शुक्रवार, आश्विन १६ गते २०८३

मैले सांसदको रूपमा धित मर्ने गरी काम गर्नै पाइनँ : रवि लामिछाने

बिहिवार , पौष २४, २०८२

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूमाथि प्रतिशोध साध्नेलाई माफी दिने आफ्नो ठुलो छाती रहेको बताएका छन् ।

चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिशोधको राजनीति अन्त्य गर्ने बताए । उनले अब देशको भविष्य लेख्ने जिम्मा नेपाली जनताको हातमा सुम्पिदिएको बताएका छन् । उनले भने, ‘आफ्नो भविष्य आफैँले लेख्ने हो। यिनलाई प्रतिपक्ष पनि नराख्ने हो । किन राख्ने प्रतिपक्षमा ? के का लागि राख्ने ? कलिला बालबालिकाहरूको टाउको र छातीमा ताकीताकी गोली हान्नका लागि राख्ने यिनीहरूलाई ? नराख्ने । मलाई कटाक्ष गर्नु छैन् । पीर त छ मलाई, चित्त त दुखेको छ ।’

उनले आफूमाथि राज्यले गरेको दमनले चित्त दुखेको बताएका छन् । उनले भने, ‘यो कुरा मेरो निजी रहेन, मेरो व्यक्तिगत रहेन । यो त सिङ्गो देशको कुरा हो । मैले कारागारबाट भनेको थिएँ यिनले मलाई जेल हाले भनेर किन चिन्ता गर्नु, जबकि सिङ्गो देशलाई यिनीहरूले जेल बनाएका छन् । अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने हो । यो लडाइँ बाँकी छ भने पनि मलाई लड्न कुनै आपत्ति छैन् ।’

उनले आफूमाथि अझै पाँच ठाउँमा तरबार झुन्डाइएको भन्दै जुनसुकै बेला खस्नसक्ने बताएका छन् । उनले भने, ‘त्यो तरबार खसोस् मलाई प्रवाह छैन् । तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो । उपस्थित आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू, तपाईँले निर्वाचित गर्नुभएको सांसदको रूपमा मैले धित मर्ने गरी काम गर्नै पाइनँ । म तपाईँको घर आँगनमा आउनै पाइनँ ।’

उनले आफ्नो कार्यकालमा तीनवटा सार्वजनिक सुनुवाइ गर्न भ्याएको सुनाए । उनले भने, ‘पटक पटकको मुद्दा मामिला र झमेलाले मैले गरेका कयौँ बाचाहरू पुरा गर्न नै पाइनँ, त्यो अवसर नै पाइनँ । तर पनि तपाईँहरूले मेरा लागि बगाउनुभएको आँसु मलाई याद छ। त्यो आँसुको एउटा एउटा थोपा खेर फाल्न दिने छैन् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार